नियम ८
दल एकीकरण हुने वा गाभिने सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १० बमोजिम दुई वा दुई भन्दा बढी दलहरु एक आपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिनको लागि त्यस्तो सम्झौता भएको मितिले पैंतालीस दिनभित्र देहायका कागजातहरु संलग्न गरी एकीकरण भई वा गाभिई कायम भएको दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले अनुसूची–९ बमोजिम आयोगमा निवेदन दिनु पर्नेछ ः-
(क) साविकका दलको केन्द्रीय समितिले त्यसरी एकीकरण हुने वा गाभिने सम्बन्धमा गरेको निर्णयको प्रतिलिपि,
(ख) एकीकरण हुने वा गाभिने गरी भएको सम्झौताको प्रतिलिपि,
(ग) एकीकरण भई वा गाभिई कायम भएको दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि,
(घ) एकीकरण भई वा गाभिई कायम भएको नयाँ दलको विधान, नियमावली तथा घोषणापत्र,
(ङ) एकीकरण भई वा गाभिई कायम भएको दलको केन्द्रीय समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(च) प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले निवेदन दिएकोमा त्यसरी दिइएको अधिकारपत्र,
(छ) एकीकरण हुनु वा गाभिनु अघि दर्ता भएका दलको दल दर्ता प्रमाणपत्र ।
(२) उपनियम (१) बमोजिम पेश भएको निवेदन सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गर्नेछ ः–
(क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको,
(ख) निवेदन र सो साथ संलग्न विवरण तथा कागजात पूरा भए वा नभएको,
(ग) दल एकीकरण हुन वा गाभिनको लागि प्रचलित सङ्घीय कानूनले तोकेको शर्त पूरा गरे वा नगरेको ।
(३) आयोगले उपनियम (२) बमोजिम जाँच गर्दा दल एकीकरण गर्न वा गाभिनका लागि पेश भएको निवेदन साथ संलग्न कागजात तथा विवरण स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पर्ने भएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित भनाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ ।
(४) आयोगले उपनियम (३) बमोजिम दिएको समयभित्र सम्बन्धित दलले थप विवरण, कागजात वा प्रमाण सहित आफ्नो भनाई लिखित रुपमा पेश गर्नु पर्नेछ ।
(५) आयोगले उपनियम (१) बमोजिम पेश भएको निवेदन, विवरण, कागजात तथा प्रमाणको जाँच गर्दा दल एकीकरण गर्न वा गाभ्न मनासिब देखिएमा त्यस्ता दलहरु एकीकरण हुने वा गाभिने निर्णय गर्नेछ र दल एकीकरण गर्न वा गाभ्न मिल्ने नदेखिएमा सोको जानकारी सम्बन्धित दललाई गराउनेछ ।
(६) उपनियम (५) बमोजिम आयोगले दलहरु एकीकरण हुने वा गाभिने निर्णय गर्दा कुनै दलको नाममा गाभिएकोमा त्यस्तो दलको विवरण अद्यावधिक गरी अर्को दलको दर्ता रद्द गर्नु पर्नेछ र नयाँ नाममा एकीकरण भएकोमा छुट्टै दलको रुपमा दर्ता गरी साविकका दलको दर्ता रद्द गर्नु पर्नेछ ।
(७) यस नियमको प्रयोजनको लागि दलको केन्द्रीय समितिको सदस्य यकिन गर्दा एकीकरण हुनु वा गाभिनु तत्काल अगाडी रहेको केन्द्रीय समितिलाई आधार मानिनेछ ।